काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड-नेपाल समूह) निरन्तर विरोधमा छ। यसै क्रममा आजै प्रचण्ड-माधव समूहले देशव्यापी रूपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैै छ।
प्रचण्ड-माधव समूहले संघर्ष समितिको बैठक बिहान ११ बजे बोलाएको छ। जसले सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गरेर / नभए एक्लै संघर्षमा उत्रिने निर्णय गर्नेछ।
अन्य दलहरूसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार केही दलसँग छलफल गरेको भए पनि कुनै सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लै भए पनि दोस्रो चरणको आन्दोलनमा जाने बताइएको छ। यस समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति बनाएको छ। दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ।
आन्दोलन परिचालन गर्न नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ। श्रेष्ठले शनिबार समितिको बैठक बस्ने र तीन बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए। आन्दोलनका कार्यक्रम वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिका सदस्यहरुको भनाइ छ।
दाहाल-नेपाल समूहले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ। यो समूहले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ। संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ।
दाहाल-नेपाल समूहले असंवैधानिक र अलोकतान्त्रिक, किदमका विरुद्ध राजनीतिक र कानुनी संघर्षको घोषणा गर्दै प्रमुख प्रतिपक्ष लगायत संसद्मा र बाहिरका पार्टीहरुलाई एकताबद्ध भएर अगाडि बढन् अपिल गरिसकेको छ। संसद विघटनसँगै नेकपा विभाजित भएको थियो। वैधानिकतालाई लिएर दुवै पक्ष निर्वाचन आयोगमा पुगेका छन्। संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।



लोकपाटी न्यूज

