सुर्खेत। नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भएको आरोप लगाएकी छिन् । जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई ओलीले दुरुपयोग गरेको उनको तर्क छ।
पार्टीको ठूलो नेता तथा कार्यकर्ता पङ्क्तिले लामो समददेखि ओलीलाई गरेको समर्थन अहिले आएर अर्थहीन भएको बताइन्। ‘पार्टीभित्र पहिले जसको बारेमा समर्थन गर्दै हिँड्यौं, अहिले उसैको विरोध गर्नुपर्दा शत्रु हँसाउने कामजस्तो भएको छ,’ झाँक्रीले भनिन्।
संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको धज्जी उडाएको उनको भनाई छ। नेतृ झाँक्रीले संसद पुनस्थापना हुने आश व्यक्त गरिन्। उनले भनिन्, ‘हामीलाई अदालतप्रति भरोसा छ, संसद पुनस्थापना हुन्छ।’ ओलीले विधिको शासनभन्दा पनि व्यक्तिको शासन जनता र पार्टीमाथि लाद्न खोजेको उनले टिप्पणी गरिन्।
उनले ओलीले देखाउन खोजेको तानाशाही प्रवृत्ति उनकै लागि महँगो पर्ने बताइन्। नेपालमा लोकतन्त्र ल्याउने र खसाल्ने काम बारम्बार भएको उनले बताइन्। प्रधानमन्त्री ओलीले वैशाखमा घोषणा गरेको चुनावलाई इंगित गर्दै केन्द्रीय सदस्य झाँक्रीले भनिन्, ‘अघिल्लो पटक हामी स्थिर राज्य व्यवस्थाका लागि लडेका थियौं, फेरि अब केका लागि लड्ने भन्ने प्रश्न हामीसामु आएको छ।’
केपी ओलीले पार्टी विभाजन हुँदा ६० प्रतिशत दाबी गर्नु मूर्खता भएको उनले बताइन्। ‘७० जना एक ठाउँमा बसेर एक हजार मनोनित गरी पार्टी दाबी गर्नु ओली समूहको मूर्खता हो,’ झाँक्रीले भनिन्, ‘त्यो अवस्था आउने कुरै छैन।’



लोकपाटी न्यूज

