काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ। कांग्रेसका अनुसार काठमाडौंका हरेक निर्वाचन क्षेत्रमा दिउँसो १ बजे प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।
संसद विघटनविरुद्ध रणनीति तयार गर्न गत बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले देशभर १६५ निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको थियो। त्यसका लागि सबै नेताहरुलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधनका लागि पार्टीले खटाएको छ।
कांग्रेसका केही शीर्ष नेता तथा केन्द्रीय सदस्य बाहेक सबै नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने केही जाँदैछन्। एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा सदरमुकाममा कार्यक्रम हुनेछ। भने अन्य जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। काठमाडौं कांग्रेसले आफ्नो तयारीलाई तीव्र पारेको छ। १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शनको तीव्र तयारी गरेको काठमाडौं कांग्रेसले जनाएको छ।
काठमाडौंमा कुन कुन क्षेत्रमा हुँदैछ प्रदर्शन ?
निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २-कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६-मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८-बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार
आजको प्रदर्शनलाई सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ, महामन्त्री डा. शशांक कोइरालाले नवलपुर, प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर तथा गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।



लोकपाटी न्यूज

