राजेन्द्र बिक/ बाजुरा, १२ पुस। बाजुराको कर्णाली नदी तारेर स्वामिकार्तिक खापर गाउँपालिकामा जिप पुगेको छ। जिल्लाका नौ वटा स्थानीय तहमा सवारी साधान गुडेपनि स्वामिकार्तिकमा भने पहिलो पटक जिप पुगेको गाउँपालिकाले जनाएको छ। सडक अधिकांश वडामा पुर्याइ सकिएको भएपनि कर्णाली नदीका कारण सवारी साधान चल्न सकेका थिएनन्। कर्णाली पुलबाट मोटरसाइकल लिने कार्य गरिए पनि जिप सेवा भने पहिलो पटक सञ्चालन हुने भएको हो।
गाउँपालिकाको पहलमा कर्णाली नदी तारेरै जिप पुर्याउने कार्य गरिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले बताए। शनिबार जिपलाई ठूला ड्रमहरुमा बाधेर पारी तारिएको गाउँपालिकाका सूचना अधिकारी कुबेर बहादुर शाहीले जानकरी दिए।
गाउँपालिकाले सडक निर्माण कार्य भने तीब्र पारेको छ। तीन वटा वडासम्म सडक पुगीसकेको र २ वटा वडामा पुग्ने तयारीमा रहेको छ। सडक निर्माण भएपनि पुल अभावका कारण सवारी साधान गुडाउन नपाएको गुनासो गाउँपालिकाको थियो। कर्णाली नदीबाट जिप तारेर गाउँपालिकामा पुर्याएपछि स्थानियबासीले खुशी भएका छन्।
सुदुरपश्चिम प्रदेश ००१ च २९४६ नम्वरको जिपलाई स्थानीयबासीले भब्य स्वागत गरेका छन्। जिपलाई कर्णाली नदी तारिएपछि गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले आफै जिप चलाएर सेवाको सुरुवात गरेका हुन्। स्वामीकार्तिक खापर गाउँपालिकामा २४ सय ४२ घरधुरीको बसोबास रहेको छ भने १४ हजार ९ सय ९ जनसंख्या रहेको गाउँपालिकाको तथ्याकंमा उल्लेख गरिएको छ।



लोकपाटी न्यूज

