काठमाडौं। नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओली क्याम्पमा रहने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। पूर्वमाओवादीबाट गृहमन्त्री बनेका थापाले भने राजीनामा दिएका थिएनन्।
नेकपा अध्यक्ष प्रचण्ड-नेपालले प्रधानमन्त्री ओलीलाई कारबाही गरेर पार्टी अध्यक्ष बनाएपछि नेकपा अघोषित विभाजन भएको छ। पार्टी विभाजन भएपछि थापा कता पट्टी लाग्नेमा निर्णयमा पुग्न सकेका थिएनन्। उनले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग निरन्तर भेटवार्ता गरेका थिए। भेटमा थापाले पार्टीभित्र आफ्नो बलियो पोजिसनका लागि बार्गेनिङ गरिरहेका थिए। तर उनी निकट नेताहरुभने अध्यक्ष प्रचण्डलाई छोड्न नहुनेमा जोड दिँदै आएका छन्।
अध्यक्ष प्रचण्डसँग थापाले पार्टीमा आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनु पर्नेमा जोड दिइरहेका थिए। तर उक्त प्रयास असफल भए पनि गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीले क्याम्पमा रहने निष्कर्षमा पुगेको बताइएको छ। बुधबारसम्म पनि गृहमन्त्रीबाट राजीनामा नगरी प्रचण्ड र ओलीसँग भेट गरेका थापाले साँझ भने ओली तिरै लाग्ने सङ्केत दिएका हुन्।
बुधवार ओलीसँग बालुवाटारमा एक घण्टा भेटेर प्रचण्डसँग भेट्न खुमलटार पुगेका थापाले वरिष्ठ उपाध्यक्ष पद माग गरेका थिए, जसमा प्रचण्ड सहमत भएनन्। ‘ओलीले उपाध्यक्ष बनाउने अफर गरेकाले थापाले प्रचण्डसँग वरिष्ठ उपाध्यक्ष पद भए आफू आउने बताउनु भयो तर प्रचण्डले त्यो स्वीकार गर्नु भएन’, थापा निकट एक नेताले भने, ‘गृहमन्त्री रहिरहने र उपाध्यक्ष पनि हुने भएपछि उहाँ ओलीतिरै लाग्ने निष्कर्षमा पुग्नु भएको छ, संभवतः बिहीबार खुल्नु हुन्छ होला।’
उनका अनुसार बिहीबार प्रचण्ड-नेपाल पक्ष र ओली पक्ष दुवैको केन्द्रीय समिति बैठक भएकाले संभवतः थापा ओलीतिर खुल्ने गरी बैठकमा सहभागी हुनेछन्। प्रचण्ड निकट एक नेताका अनुसार थापाले वरिष्ठ नेता झलनाथ खनालपछिको मर्यादा क्रममा रहने गरी वरिष्ठ उपाध्यक्ष बनाउन आग्रह गरेका थिए।
‘थापाले वरिष्ठ नेता झलनाथ खनालपछि चौथो मर्यादा क्रममा रहने गरी वरिष्ठ उपाध्यक्ष बनाउन आग्रह गर्नु भएको थियो’, ती नेताले भने, ‘त्यो भनेको अहिले चौथो मर्यादा क्रममा रहेका नारायणकाजी श्रेष्ठभन्दा माथिको पद मागिएको हो, र सायद अध्यक्ष प्रचण्डले त्यो स्वीकार गर्नु भएन।’
एकीकृत नेकपाको मर्यादा क्रममा पनि थापा श्रेष्ठभन्दा दुई तह पछि थिए। श्रेष्ठ उपाध्यक्ष वामदेव गौतमपछि छैठौं क्रममा थिए भने सातौंमा ईश्वर पोखरेल र आठौं नम्बरमा थापा थिए। अर्को पक्ष एकीकृत नेकपामा ओलीसँगको टसलमा माधव नेपालसँगै प्रचण्डलाई बलियो साथ दिने नेता श्रेष्ठ थिए। सायद अर्को त्यो करणले पनि प्रचण्डले थापालाई श्रेष्ठभन्दा अगाडि ल्याउन चाहेनन्।
ओलीका लागि नेकपा नाम र चुनाव चिन्ह दाबी गर्नका लागि मात्रै होइन कार्यकर्ताबीच सन्देश दिन पनि थापा जस्ता पूर्वमाओवादीका वरिष्ठ नेता चाहिएको छ। त्यसैले पार्टीमा विवाद बढ्दै गएदेखि नै ओलीले थापालाई आफ्नो साथमा राख्ने प्रयास गर्दै आएका छन्। ओली निकट एक नेताले दिएको जानकारी अनुसार वामदेव गौतम आफ्नो समूहमा आएमा पार्टीमा आफुपछि दोस्रो मर्यादाको स्थान दिने र गृहमन्त्री पनि बनाउने सोचमा ओली छन्।
त्यसो भएमा पार्टीमा थापाको स्थान के हुन्छ र उनी गृहमन्त्री रहन्छन् रहँदैनन् प्रष्ट भैसकेको छैन्। गौतम नआएको खण्डमा भने दोस्रो मर्यादामा रहने गरी थापालाई उपाध्यक्ष बनाउने आश्वासन ओलीले दिएका छन्। पार्टी विभाजन हुनु अघिल्लो दिन सोमबार थापा पक्षीय नेताहरू उनको पुल्चोकस्थित मन्त्री निवासमा भेला भएर लामो छलफल गरेका थिए। जहाँ अधिकांश नेताहरूले थापालाई ओलीले चालेको संसद् विघटनको कदम प्रतिगामी रहेको भन्दै प्रष्ट रुपमा अर्को पक्षमा उभिन दबाब दिएका थिए।
‘थापाको मन्त्री निवासमा त्यो दिन २२ जना नेता भेला भएका थिए, तीमध्ये २० जनाले प्रचण्ड-माधव नेपालतिर लाग्नु पर्ने अडान लिए भने थापासहित अर्को एक जनाले मात्रै ओलीतिर लाग्नु पर्ने तर्क गरेका थिए’, सहभागी एक जना नेता भन्छन्, ‘त्यसपछि थापाले म तपाईंहरूको इच्छाअनुसार नै निर्णय लिन्छु भन्दै भेला टुंग्याएका थिए।’
नेकपामा गुटको हिसावले थापाको समूह ‘चौथो गुट’ का नामले पनि चिनिन्थ्यो। थापा समूहका नेताहरू नै त्यसरी आफ्नो शक्तिलाई अथ्र्याउँथे। हुन पनि थापा आफैं नेकपाको नौ सदस्यीय सचिवालय सदस्य थिए भने उनीसहित तीन जना स्थायी समिति सदस्य र ३७ जना केन्द्रीय सदस्य थिए।
अहिले थापाका लागि अप्ठेरो के छ भने बुधबारसम्मको अवस्था हेर्दा उनको समूहका अधिकांश नेता प्रचण्ड–नेपाल पक्षतिर खुलेरै लागिसकेका छन्। स्थायी समिति सदस्य देव गुरुङ र पम्फा भुसाल त धेरै अघिदेखि नै पार्टीमा ओलीसँग मिल्ने थापाको भूमिकासँग असन्तुष्ट थिए र प्रचण्डसँग निकट भैसकेका थिए। मंगलबार पार्टी विभाजनकै क्रममा आयोजना गरिएको ओली पक्षको केन्द्रीय समिति बैठकमा थापा पक्षका नेताहरू सहभागी भएनन्, उनीहरू अधिकांश प्रचण्ड-नेपालले आयोजना गरेको केन्द्रीय समिति बैठकमा सहभागी भए।
‘अहिले गृहमन्त्री थापाको पक्षमा उनकै स्वकीय सचिव सूर्य सुवेदी मात्रै खुलेर लागेको देखिएको छ’, थापा खेमाबारे जानकार प्रचण्ड निकट एक नेता भन्छन्, ‘भन्न त लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी पनि थापासँगै ओलीतिर लाग्ने केहीले चर्चा गरेका छन् तर उनले प्रचण्ड-नेपाल पक्षको बैठकमा सहभागी भएर केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम चढाइसकेका छन्।’
यसअघि थापा निकट रहेका केही नेताहरू प्रदेशको जिम्मेवारीमा छन्। प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो, लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्ती र आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमन र कर्णाली प्रदेशका अन्तरिक मामिला मन्त्री नरेश भण्डारी यसअघि थापा निकट रहे पनि अहिले प्रचण्ड-नेपाल पक्षमा खुलेका छन्।
आफ्नो पूर्वसमूहलाई प्रचण्ड-नेपालतिरै छोडेर थापा चाहिँ किन ओलीको उपाध्यक्ष बन्न उत्सुक छन् त?
पहिलो त ओलीले थापालाई गृहमन्त्रीमा निरन्तरता दिने र पार्टीमा आफुपछिको मर्यादामा रहने गरी उपाध्यक्ष बनाउने बलियो आश्वासन दिएका छन्। दोस्रो, निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह आफ्नै पार्टीलाई दिने र सर्वोच्च अदालतले संसद् पुनस्थापना पनि नगर्ने कुरामा ओलीले थापालाई विश्वस्त तुल्याउन खोजेका छन्।
‘अध्यक्ष र महासचिवले बैठक बोलाउने र माइन्युट पनि ओली पक्षसँगै भएकाले प्रचण्ड-नेपाल पक्षले चुनाव चिन्ह पाउँदैनन्’, थापा निकट अर्का एक नेताले भने, ‘ओलीको कदममा शक्ति केन्द्रहरूको साथ भएकाले अदालतले संसद् पुनस्थापना गर्दैन र, अख्तियारले केही कदम चाल्ने भएकाले चुनाव पनि प्रचण्ड-नेपाल पक्षले जित्दैनन् भनेर आश्वस्त बनाउन खोजिएको रहेछ।’



लोकपाटी न्यूज

