काठमाडौं, ८ पुस। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका नेताहरुलाई बोलाएर बालुवाटारमा भेला गरे। पार्टीको केन्द्रीय समितिका ४४१ सदस्यमध्ये ३१५ जना नेताहरु प्रचण्ड–नेपालतिर लागेपछि बाँकी रहेका नेताहरु बिहान नौ बजे बालुवाटार पुगे।
बालुवाटारमा बसेको ओलीपक्षीय भेलाले नेकपाको ४४१ सदस्यीय केन्द्रीय समितिलाई बढाएर ११९९ पुर्याउने निर्णय गर्यो। तत्काल १००३ जनाको केन्द्रीय समिति बनाएको ओली पक्षले आफ्ना स्थानीय नेताहरुको नाम भटाभट प्रस्तुत गर्यो। आयोजक समितिमा ओली समूहका सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, जनवर्गीय संगठनका नेता र जिल्लाका केही नेताहरुको नाम पनि समावेश गरियो। तर, पूर्वमाओवादी समूहबाट भेलामा गएका नेताहरुका मान्छेबारे ओलीले खासै ध्यान दिएका छैनन्।
ओलीले एमाले–माओवादी एकता हुनुपूर्व नै एमाले प्रवेश गरेका केही नेताहरुलाई केन्द्रीय समितिमा ल्याएका छन्। तर, भर्खरै ओली समूहतिर लागेका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापाका मान्छेहरु आयोजक समितिमा परेनन्। ओलीले बादल समूहका केही नेताको नामसमेत केन्द्रीय समितिमा हाल्दा रायमाझी, भट्ट र थापालाई महत्व दिन किन आवश्यक ठानेनन् ? योचाहिँ खुल्दुलीको विषय बनेको छ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझी कुनै बेला डा. बाबुराम भट्टराई पक्षका दोस्रो नेता मानिन्थे। तर, डा. भट्टराई माओवादीबाट बाहिरिँदा रायमाझी नयाँ शक्तिमा लागेनन्। त्यसपछि उनको पूर्वमाओवादीमा केही पकड देखिन्थ्यो। तर, नयाँ शक्तिबाट नेता देवेन्द्र पौडेल माओवादीमा फर्किएपछि रायमाझीनिकट भनिएका सबै नेता कार्यकर्ता पौडेलतिर लागे। हिजो बाबुरामको ‘लिगेसी’ भएका सबै नेता–कार्यकर्ता पौडेलसँग जोडिएपछि रायमाझीले आफू संगठनमा कमजोर हुँदै गएको अनुभूति गरेका थिए।
उद्योगमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य लेखराज भट्ट सुदूरपश्चिमका नेता हुन्। पूर्वमाओवादीमा छँदा प्रदेशमा उनी पहिलो बरियतामा थिए। भट्ट ओलीतिर लागेपछि पूर्वमाओवादीका प्रदेशस्तरका केही नेता उनीसँग जोडिएका छन्। तर, ओलीले उनलाई पनि खास महत्व दिएनन्। केन्द्रीय समिति बिस्तारमा उनका मान्छेहरुको उपस्थिति निकै कमजोर देखिएको छ।
पूर्वमाओवादी पृष्ठभूमिका नेकपाका अर्का स्थायी समिति सदस्य मणि थापा माओवादी केन्द्र गठनका बेला एक्लै पार्टीमा फर्किएका थिए। उनीसँग १२–१५ जना कार्यकर्ताबाहेक कोही नेता थिएनन्। त्यसैले एकतादेखि नै उनले आफूलाई एक्लो महशुस गर्दै आएका थिए। ओलीले ११९९ को केन्द्रीय समिति बनाउँदा थापाले कोही पनि मान्छेलाई केन्द्रीय समितिमा समावेश गर्न सकेनन्।
रायमाझी, भट्ट र थापासँग स्तरीय नेता नभएर केन्द्रीय समितिमा प्रतिनिधित्व भएन कि ओलीले उनीहरुको खासै प्रभाव देखेनन् ? यो चासोको विषय बनेको छ। १९६ जना केन्द्रीय सदस्य थप्न बाँकी रहेकाले उनीहरुका केही मान्छे भने केन्द्रीय समितिमा थपिनेछन्।
यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले नेता रायमाझीलाई गृहमन्त्री र थापालाई श्रममन्त्री बनाउने वचन दिएका छन्। मंगलबारको भेलाकै बेला नेता रायमाझीले ‘म गृहमन्त्री हुँदैछु, तपाईले मलाई साथ नदिने ?’ भन्दै प्रदेश स्तरका केही नेताहरुलाई फोन गरेका थिए।
प्रधानमन्त्री ओलीले केही दिनमै मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेकाले आफू गृहमन्त्री हुने उनले दावी गरेका थिए। अन्तिम समयमा आएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ओलीलाई साथ नदिएको र नेकपाका सात मन्त्रीले राजीनामा दिइसकेकाले ओलीका लागि थप आठ मन्त्री नियुक्ति गर्ने सुविधा छ।



लोकपाटी न्यूज

