हामी दुई तिहाइ बहुमतमा छौँ : माधव नेपाल

madhav-nepal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधव नेपालले आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको बताएका छन्। स्थायी समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले बहुमत सचिवालय सदस्यहरूको पक्षमा बहुमत रहेको बताएका हुन्। बालुवाटारले पूर्व एमालेलाई ब्युँताउने खोजेको पनि बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदम पार्टी विधि विधान भन्दा विपरीत रहेको नेता नेपालको ठहर छ।

‘पार्टी जीवनको संकटपूर्ण अवस्थामा छौँ। यो बैठक पार्टी जीवनको अविस्मरणीय बैठक हुनेछ। यो बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति छैन,’ उनले भने, ‘भोलिका दिनमा सबै नेताहरू बैठकमा आउनेछन्। यही बेला बालुवाटारमा गुटको सानो भेला बसेको छ। त्यो पार्टीको आधिकारिक बैठक होइन।’

उनले अगाडि भने, ‘बालुवाटारमा पुरानो नेकपा एमाले ब्युँताउने कोसिस भएको छ। त्यो वैधानिक छैन। २०७५ जेठ ३ गते विघटन भएको नेकपा एमाले ब्युँतिन सक्दैन।’ प्रधानमन्त्री ओलीले आफू नभएको बैठकले मात्र वैधता पाउने भन्नु मूर्खता भएको नेता नेपालको भनाई छ। उनले भने, ‘म प्रथम अध्यक्ष भएकाले म नभएको बैठकले वैधता पाउँदैन भन्ने भ्रमपूर्ण कुरा हो।’