ओली समूहकाे प्रवक्तामा प्रदीप ज्ञवाली

लोकपाटी न्यूज

काठमाडौं, सत्तारुढ नेकपाको केपी ओली पक्षले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ।
बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए।
श्रेष्ठलाई पार्टी एकताको बेलामा नै प्रवक्ता तोकिएको थियो।
श्रेष्ठको भूमिकाप्रति ओली पक्ष केही समययता आक्रामक देखिँदै आएको थियो।
त्यस्तै, ओलीले केन्द्रीय समिति विस्तार गरी मनोनित सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

मंगलवार बसेको आफूपक्षीय भेलाको अध्यक्षता गरेको ओलीले ५५६ थप गरी कुल केन्द्रीय सदस्य संख्या ११९९ पुर्याएका छन्।

सोमवार बसेको बैठकमा ओलीले ५५६ जनाको केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव गरेका थिए भने आजको बैठकले उक्त प्रस्तावको अनुमोदन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

पहिले नेकपा केन्द्रीय कमिटीमा ४४७ रहेको थियो । ५५६ जना केन्द्रीय सदस्यसंख्या थपिएसँगै १,००३ जनाको केन्द्रीय कमिटी बनेको र रिक्त संख्या १९६ रहेको उनले जानकारी दिए ।