मन्त्री जोशीको आह्वान : ‘कर्मचारी नै हुन् बिगार्ने’ भन्ने भाष्यलाई बदल्नतिर लाग्नुस्

Bhanubhakta_Joshi
लोकपाटी न्यूज

काभ्रेपलाञ्चोक। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता औँल्याएका छन्। धुलिखेलमा आज आयोजित एक अन्तरक्रियामा उनले के व्यवस्था गर्दा राजनीतिक स्थायित्व हुन्छ त्यसका लागि सबै पक्ष जुट्न आग्रह गरेका हुन्।

‘राजनीतिक स्थायित्वका लागि पक्ष विपक्ष नबनौं, राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता भइसकेको छ,’ मन्त्री जोशीले भने, ‘राजनीतिक स्थायित्व दिई नागरिकको अविश्वास निस्तेज पार्नु सबैको चुनौतीको विषय भएकाले सबै पक्ष जुटौं।’ राजनीतिक स्थायित्वले दिगो विकास र नवप्रवर्तनलाई निरन्तरता दिन सक्ने भएकाले सुन्दर देश निर्माणमा ‘सत्तापक्ष वा विपक्ष’ सबै पक्षको उत्तिकै दायित्व भएको उनको भनाइ थियो।

मन्त्री जोशीले देशभक्त कर्मचारीले नै नागरिकलाई सुशासन प्रदान गर्ने बताए। ‘जनताले अनुभूत गर्ने गरी सुशासन प्रदान गर्नु कर्मचारीकै दायित्व हो, कसरी अझ सेवा प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे समीक्षा गरी ‘कर्मचारी नै हुन् बिगार्ने’ भन्ने बाहिरको भाष्यलाई बन्द गराउन लाग्नुहोस्,’ उनले भने। मन्त्री जोशीले कर्मचारी दुई वर्ष सरुवा नहुने प्रावधान भए पनि त्यसो नभएकोमा चिन्ता व्यक्त गर्दै त्यस विषयमा मन्त्रालय गम्भीर रहेको बताए।

संघीय निजामती ऐन आएपछि कर्मचारीका सबै विषय हल हुनेमा आफू विश्वस्त रहेको उनको तर्क थियो। मन्त्री जोशीले एक सय चार स्थानीय तहमा नवप्रवर्तन कार्यक्रमलाई प्रारम्भिक चरणमा मागिएको ८८ करोड रकम निकासा नभई ती तहमा नयाँ कामको सुरुआत गर्न नपाएकामा दुःखेसो पोख्दै संविधान कार्यान्वयनको सिलसिलामा देखिएका कठिनाइलाई सबै मिलेर फुकाउनुपर्ने उनको धारणा थियो।

उनले थपे, ‘तर, महिला जनप्रतिनिधिको आर्थिक अपचलनको मुद्दा नगण्य भइरहँदा पुरुष जनप्रतिनिधिलाई यस विषयमा चुनौतीको चाङ पनि थपिँदै गएको छ, यसप्रति पनि विशेष सचेत रहनुहोला।’ -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्