ओ!
फूलमाया
फूल लिन
र
दिन पनि विचार पुर्याउनु।
अनयासै
फूल जस्तै सुक्न सक्छन्
नानीका पानीहरु
बर्खे भेल जस्तै बग्न सक्छन आँखाहरु
खोलीले तट काटेजस्तै
आँसुहरुले काट्न सक्छन्
परेलीका डिलहरु
र
भत्किन सक्छन् विस्वाश र भरोसाका पर्खालहरु
ओ!
फूलमाया विचार पुर्याउनु।
सीसा जस्तै
नचर्किएला छाती भन्ने के ग्यारेन्टी छ र?
सीसाको फ्रेममा दिएको उपहार जतन
भएन भने
फूलमाया विचार पुर्याउनु।
सबैभन्दा अमुल्य उपहार
प्रेमको नै हुँदो रहेछ
र नहुँदो पनि
फेरी
पछुतोले
पछुताउला कुनैबेला तिमी कसोरी पछुताउछौ?
दिलका सोकेसमा सजाएको काँडै नभएको गुलाबले नि
घोच्न सक्छ
नसक्ने होइन एउटा फूलले पनि प्रेमको बाग बन्न सक्छ
तर
ओ फूलमाया
आज फूल दिएर जानेहरु
भोलि भूल दिएर जान सक्छन्
विचार पुर्याउनु ।



लोकपाटी न्यूज

