गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौं : प्रधानमन्त्री

Prachand
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताएका छन्।

सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ कार्यकर्ताको निधन भएको थियो। सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री प्रचण्डले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। उनको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीले यही साउन १८ गते पीडित संघर्ष समितिका रुपसागर उपाध्यायलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गरेका थिए।

‘गौर हत्याकाण्ड पीडित संघर्ष समितिका माध्यमबाट विभिन्न मागसहित आन्दोलन गर्ने जानकारीप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ। संघर्ष समितिका मागका सम्बन्धमा वार्ता/संवादका माध्यमबाट तत्काल समाधान गर्न प्रधानमन्त्री दाहालबाट निर्देशनसमेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता/संवादमा आउन हार्दिक अनुरोध छ,’ उक्त पत्रमा उल्लेख छ।

सोही पत्रका आधारमा आज प्रधानमन्त्री प्रचण्ड र सो घटनाका पीडितबीच प्रधानमन्त्री निवासमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्