सिस्टमकै विरोध गर्न थाल्यौं भने गल्ती हुन जान्छ : बार अध्यक्ष घिमिरे

GopalKrishna_Ghimire
लोकपाटी न्यूज

काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले डेमोक्रेटिक पोलिटिकल सिस्टममा व्यक्ति खराब हुनसक्ने तर सिस्टम खराब हुन नसक्ने दाबी गरेका छन्। रिपोर्टर्स क्लबमा बिहीबार ‘देशमा सुशासन कसरी स्थापित गराउने’ भन्ने विषयमा आयोजित अन्तरक्रियामा उनले अहिलेको सिस्टम ल्याउनका लागि थुप्रैले शाहदत्त गर्नुपरेको स्मरण गर्दै केही व्यक्ति खराब भए भन्दैमा व्यवस्था परिवर्तनको आवश्यकता नरहेको बताए।

‘हामीले डेमोक्रेटिक पोलिटिकल सिस्टमको लागि संघर्ष गरेको हो। डेमोक्रेटिक पोलिटिकल सिस्टममा व्यक्ति खराब हुन सक्छ, तर त्यो सिस्टम खराब हुँदैन। अहिलेको सिस्टम ल्याउनका लागि थुप्रै शाहदत्त भएको छ,’ उनले भने, ‘अहिलेको संविधान दुई पटकको संविधानसभाको चुनावमार्फत घोषित गरिएको संविधान हो। अहिले सिस्टम परिवर्तनको कुरा छैन, केवल व्यक्ति कस्तो भयो भन्ने कुरा उठिराखेको छ।’

देशमा सुशासन कायम हुन नसकेको कारण नै अहिले देशमा बेथिति बढेको उनको दाबी छ। उनले मुलुकलाई सुशासनतर्फ लान सकेको खण्डमा राजनीतिक, सामाजिक, आर्थिक र न्यायालयमा रहेको समस्यामा सुधार आउने बताए। ‘सुशासन हुन नसकेको कारण नेपाली जनता पीडित छन्। मुलुकलाई सुशासनतर्फ लान सकेको खण्डमा चाहे पोलिटिकल समस्या होस्, चाहे सामाजिक समस्या होस्, आर्थिक क्षेत्र होस् वा कानुनी क्षेत्र होस्, न्यायालयको क्षेत्र होस् सबै ठाउँमा सुशासनको अभाव छ,’ उनले भने।

अहिले संस्थाहरूलाई अनुशासित बनाउन नसकेको परिणाम देशले भोगिरहेको उनको भनाई छ। डेमोक्रेसीमा संस्थाहरू मर्यादित, सक्षम, अनुशासित हुनु अपरिहार्य रहेको उनले बताए। संस्थाहरू मर्यादित, सक्षम, अनुशासित भए मात्रै मुलुकले फड्को मार्ने उनको भनाई छ।

आफूहरू यो व्यवस्था प्राप्तिको लागि जीवनभर लडेको स्मरण गर्दै उनले दुई/चार जना व्यक्तिले गरेको छिटपुट घट्नाका कारण व्यवस्थाकै विरोध गर्नु गलत हुने बताए। ‘हामी जुन स्वतन्त्रताको लागि जीवनभर लड्यौं, दुई चार जना व्यक्तिले गरेको छिटपुट घटनाबाट, अनुशासनको घटनाबाट हामीले आत्तिएर सिस्टमकै विरोध गर्न थाल्यौं, भने त्यो गल्ती हुन जान्छ,’ उनले भने।

आफूहरूले न्यायालयमा सुशासन चाहेको उनले बताए। न्यायालयको सुशासनकै लागि विगतमा एक सय ९ दिन आन्दोलन गरेकोसमेत उनले स्मरण गराए। प्रधानन्यायाधीश, उच्च अदालतका न्यायाधीश, जिल्ला अदालतको न्यायाधीश नियुक्तिको लागि बारले आन्दोलन गर्नु परिरहेको भन्दै उनले दुःख व्यक्त गरे।

पछिल्लो समय सरकारले सुशासनको पक्षमा केही महत्त्वपूर्ण कदम चालिरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणको फाइल खोलेर सरकारले सुशासनको पक्षमा ठोसरुपमा पहल कदमि लिइरहेको देखिन्छ। राज्यका सबै निकायहरूमा विकृति, विसंगति र भ्रष्टाचारबाट मुक्त गर्न प्रयासहरू भइरहेका छन्। सरकारले सबै किसिमका विकृति विसंगतिविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ।

यद्यपि सरकारले सत्ता टिकाइराख्न बेलाबेलामा स्टन्टबाजी गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ। विमानस्थलको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै एयरपोर्टबाट एक क्विन्टलभन्दा बढी सुन बाहिरिँदै गर्दा राजश्व अनुसन्धानको टोलीले पक्राउ गर्न सफल भयो। सुनको मालिक को थियो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन। बेतिथि र विकृति बढेपछि छिटपुटरुपमा अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाउन थालिसकेका छन्। उक्त विषयमा आयोजित अन्तरक्रियामा विज्ञहरूले सिस्टम परिवर्तन भन्दा पनि देशमा सुशासनको खाँचो रहेको औँल्याएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्