शिक्षा क्षेत्र दलाल पुँजीवादको दबदबामा छ : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताएका छन्। समाजवादी विद्यार्थी मोर्चाद्वारा आयोजित एक अन्तरक्रियामा उनले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताए।

विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ। समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका उनले धेरैभन्दा धेरैलाई मोर्चामा समेटेर अगाडि बढ्न तयार रहेको बताए। उनले मोर्चामा आबद्ध हुन देशभक्त, वामपन्थी र समाजवादी विचारधारा अंगालेका शक्ति र पार्टीलाई आग्रह गरे।

पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार, अत्याचार, असमानताका विरुद्ध एकताबद्ध भएर जुध्नुपर्ने उल्लेख गर्दै समाजवाद न्याय, समानता र सबै जनताको समृद्धिको अभियान भएको बताए। उनले शिक्षा क्षेत्रमा पनि दलाल पुँजीवादको दबदबा रहेकाले त्यसका विरुद्ध सशक्त प्रतिवाद गर्दै अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्