काठमाडौं। काठमाडौंमा प्रत्येक वर्ष अपराधको संख्या वृद्धि हुँदै गएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौंमा अपराधको संख्या बढ्दै गएको हो।
आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए। प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंभित्र बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए।
‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने। आव २०७९/८० मा दर्ता भएका १३ हजार चार सय ६४ अपराधका मुद्दामध्ये बैंकिङ कसुरका मात्र सात हजार १०१, अभद्र व्यवहारका दुई हजार आठ सय ९४, चोरीसम्बन्धी छ सय ४७, ठगीका चार सय १४, लागुऔषधका तीन सय ६८, आत्माहत्यासम्बन्धी तीन सय ५७ मुद्दा रहेका छन्।
यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा तीन सय २६, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी एक सय ८९, कर्तव्य ज्यानसम्बन्धी २७ र अन्य अपराधका एक हजार एक सय ४१ मुद्दा दर्ता भएका थिए। यहाँका प्रहरीले हाल काठमाडौंभित्र ५६ प्रहरी इकाईमार्फत सुरक्षा प्रवाह गर्दै आइरहेको छ।



लोकपाटी न्यूज