कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरूको आन्दोलन जारी

Karnali_bigyan
लोकपाटी न्यूज

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्राध्यापकहरूको आन्दोलन जारी छ। आफूहरूलाई स्थायित्व हुनुपर्ने माग राख्दै उनीहरू एक हप्तादेखि आन्दोलनमा छन्। उनीहरूले हातमा कालोपट्टी बाँधेर एक हप्तासम्म काम गर्ने, रिले अनसन, तालाबन्दी गर्ने र चिकित्सकीय सेवा बन्द गर्नेसहितका आन्दोलनका कार्यक्रमहरू राखेका छन्।

प्राध्यापकहरूले पहिलो हप्ता कालो पट्टी बाँधेर सेवा गरिरहेका छन्। माग पुरा नभएसम्म बाकी आन्दोलनका कार्यक्रम क्रमशः जारी राख्ने चेतावनी दिएका छन्। विभिन्न समयमा स्थायित्वका लागि ज्ञापन पत्र दिए पनि बेवास्ता गरिएको प्राध्यापकहरूको गुनासो छ। प्रतिष्ठानका चिकित्सकले आवश्यक सहयोग तथा समन्वय गरिदिन आग्रह पनि गरेका छन्। स्थायित्व नभएका कारण प्रतिष्ठानकै स्थायित्वमा चुनौती थपिएको प्राध्यापकहरूको भनाई छ।

प्राध्यापक डाक्टर शेषानन्द संजेलले यहाँको जनशक्ति स्थायी भएमा मात्र कर्णालीले न्याय पाउने बताए। प्राध्यापकहरू आन्दोलित भएको विषयमा प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले यो विषय निरन्तर सरकारलाई पहल गरेपनि हालसम्म नभएको जानकारी दिए। बजेटमा पनि कर्णाली प्रतिष्ठानलाई चरम अन्याय गरिएको उनको दाबी छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापक र प्राध्यापक मात्रै ८८ जना जना रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्