१६ विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य

reading book
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन्। बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो। बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो। विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन्। ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन्।

नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क सङ्ग्रह, पत्रकारिता विषयमा कसैले पनि ‘ए प्लस’ प्राप्त गर्न सकेनन्। बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा नौ वटा ग्रेड निर्धारण गरेर नतिजा प्रकाशन गरेको छ।

परीक्षाको प्राप्ताङ्कलाई विषयगत रूपमा ‘ए प्लस’ देखि ‘ई’ ग्रेडसम्म वर्गीकरण गरेको छ । ‘ए प्लस’ प्राप्त नगरेका विषयमा विद्यार्थीले तल्लो ग्रेड मात्रै प्राप्त गरेका छन्। सङ्गीत, ज्योतिष, खाद्य विज्ञानलगायतका विषयमा विद्यार्थीले माथिल्लो ग्रेड मात्रै प्राप्त गरेका छन्। ऐच्छिक द्वितीयपत्र कम्प्युटर विज्ञानका परीक्षार्थीले सबैभन्दा धेरै अर्थात् ३१ हजार ८७२ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन्। त्यस्तै अनिवार्य विषयतर्फ स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा २२ हजार ५७४ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्