मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री

Prachand
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन्। आज दिउँसो नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा महिलाको भेलामा उनले सरकारले गरेका राम्रा कामबाट तर्सिएर प्रतिपक्षीले संसद् अवरोध गरेको बताए।

उनले भने, ‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बङ्ग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ। भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ।’

सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ थालेको उल्लेख गर्दै उहाँले सुशासनको लडाईंमा आफूहरूले जित्ने दाबी गरे। ‘हामी सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्धको लडाइँ लडिरहेको छौं, यो लडाइँमा हामी जित्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौं। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्ति एकताबद्ध हुँदैछौं। विसं २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौं।’

उनले युवा तथा महिलालाई सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्न निर्देशन दिए। आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको जनाउँदै उनले भ्रमणका क्रममा भएको सम्झौताबाट नेपालले ठूलो लाभ लिने बताए। ‘विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ। सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्