‘समृद्ध ककनी’को आधार कृषि पर्यटन र दिगो पूर्वाधार : ककनी

लोकपाटी न्यूज

रानीपौवा। नुवाकोटको ककनी गाउँपालिकाले ‘समृद्ध ककनी’को कार्ययोजना कार्यान्वयनमा अघि बढेको छ। ‘समृद्ध ककनी’को आधार ‘कृषि पर्यटन र दिगो पूर्वाधार’ भन्ने मूल नाराका साथ पालिकाले समृद्धिको यात्रा प्रारम्भ गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए।

गाउँपालिकाले आयोजना गरेको वडा भेलामा उनले कृषिलाई आधुनिकीकरणसँग जोडने र पर्यटन क्षेत्रलाई व्यावसायिक बनाउने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताए। आगामी आर्थिक वर्षमा पालिका भित्र एक घर, एक धारा कार्यक्रम, टुक्रे योजनालाई निरुत्साहित, सामूहिक खेतीलाई प्रोत्साहन लगायतका योजना विशेष प्राथमिकता साथ अगाडि बढाइने बताए। उनले यी योजना सम्पन्न भए गाउँको जीवन सहज हुने विश्वास व्यक्त गरे।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले गाउँपालिका नवीन सोच, गन्तव्य र उद्देश्यका साथ अघि बढिरहेको बताइन्। उनले सार्वजनिक निजी साझेदारीको माध्यमबाट आर्थिक तथा सामाजिक विकास गरी समुन्नत समाजको निर्माण गर्ने, आर्थिक, सामाजिक, वातावरण, विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन मैत्री प्रशासनको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिइन्।

उनले कृषिजन्य उत्पादनमा प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिकीकरणको माध्यमबाट आत्मनिर्भर, पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धन तथा प्रचारप्रसारको माध्यमबाट रोजगारीमा वृद्धि, स्थानीय गौरवको आयोजनालाई प्राथमिकता दिई दिगो पूर्वाधार विकास गर्ने, सिपयुक्त दक्ष जनशक्ति विकास, सामाजिक सुरक्षा, संरक्षण र दिगो शान्तिको विकास, वातावरणमैत्री, वालमैत्री, महिलामैत्री तथा अपांगमैत्री स्वच्छ सुन्दर गाउँ निर्माण गर्नु गाउँपालिकाको उद्देश्य रहेको प्रष्ट पारिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्