विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्नेलगायत छन्।
बिहीबारै बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ। एमालेबाट निर्वाचित मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने समीकरण प्रदेशसभामा देखिदैन। ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जनाको मात्रै समर्थन मुख्यमन्त्री कार्कीलाई छ।
प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ जना छन्। तर सभामुखले मत बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउने भएकोले विपक्षी गठबन्धनलाई पनि बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी पेस गर्न गाह्रो छ।



लोकपाटी न्यूज

