अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ : तालिबान

Taliban_Afghan
फाइल तस्बिर
लोकपाटी न्यूज

एजेन्सी। तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद-उल-अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्।

काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादालाई उद्धृत गरी इद-उल-अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन्। मुजाहिदको ट्वीटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भनेका छन्, ‘जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, त्यसरी नै हामी अरूलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिँदैनौं।’

उनले तालिबान नेतृत्वमा मुलुकको आर्थिक पतन र संकटको भविष्यवाणी गलत साबित भएको दाबीसमेत गरे। तालिबानको ‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’का कारण देह आर्थिक पतन हुनबाट जोगिएको अखुन्दजादाले बताए। उनले लागूऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भनेका छन्, ‘देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र ‘किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनीरूपमा वैध मानिने व्यवसायीक खेतीको विस्तार भइरहेको छ।’

‘यसबीचमा, सबै प्रकारका लागूपदार्थको उत्पादन, तस्करी र प्रयोगमा प्रतिबन्ध लगाइएको छ र अब, धेरै नागरिकहरू, विशेष गरी युवाहरू यस क्षतिबाट जोगिएका छन्,’ अखुन्दजादाले भने। महिला अधिकारका सम्बन्धमा उनले जबरजस्ती करणीलगायत थुप्रै परम्परागत उत्पीडनबाट महिलालाई जोगाउन ठोस कदम चालिएको र उनीहरूको शरिया अधिकारको संरक्षण गरिएको दाबी गरे।

उनले भने, ‘यसबाहेक, इस्लामी शरिया कानुन अनुसार महिलाहरूलाई आरामदायी र समृद्ध जीवन प्रदान गर्न समाजको आधा भागको रूपमा ‘महिलाहरूको सुधारका लागि आवश्यक कदम’हरू चालिएका छन्। विगत २० वर्षदेखि महिलाको हिजाब र भ्रमसँग सम्बन्धित पेशाका नकारात्मक पक्षहरू चाँडै अन्त्य हुनेछन्।’ उक्त सन्देशमा अफगानी बालिका र महिलाको शिक्षाबारे कुनै उल्लेख गरिएको छैन।

अखुन्दजादाले प्यालेस्टिनी महिला, बालबालिका र असहाय मुसलमानहरूमाथि इजरायलले गरेको क्रूर कार्यको कडा शब्दमा निन्दा गरेको र अन्य देशहरूलाई ‘यस अतिवादी मानवीय अपराध र क्रूर अत्याचारलाई रोक्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्न’ आग्रह गरेका छन्।