योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ : प्रधानमन्त्री

PM_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान-विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस-२०८० को मूल समारोहमा उनले योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिए।

‘नेपालका तीन सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ। नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान-विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ,’ उनले भने, ‘मठमन्दिर र मूर्तिकलामा होस् या चित्रकला, पौभाचित्र (थान्का) सबैतिर योगको प्रभाव देखिन्छ। ढुङ्गेधारा, कुवा-इनार र राजकुलोको निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ। त्यसैले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति हो।’

स्वास्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिकरूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग भएकाले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्मज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यस क्षेत्रका अनुभवी व्यक्तिको ज्ञान र अनुभवबाट सिक्नुपर्ने उनले जिकिर गरे।

तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले योग र ध्यानका अभ्यास व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान गर्ने भएकाले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ता र योग गुरुको अहम् भूमिका हुने बताए।

दिवस मनाइरहँदा योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिएमा नेपालमा योग पर्यटनको विकास गर्न सकिने उनले उल्लेख गरे। मानव जातिको इतिहास, जीवन वृत्ति र विकासका क्रममा पूर्वीय समाजले बहुआयामिक योगदान गर्दै आएको र चिन्तन, दर्शन, सभ्यता र संस्कृतिका दृष्टिले मात्र नभएर पूर्वी वाङ्मय र जीवनशैलीमा पनि नेपाली त्यति नै वैभवशाली भएकाले यसको व्यवस्थित अध्ययन, अनुसन्धान र व्यवस्थित स्वामित्व लिएर हाम्रो ज्ञान भण्डार र जीवनलाई विश्वव्यापीरूपमा स्थापित गर्न पनि प्रधानमन्त्री प्रचण्डले आग्रह गरे।

कार्यक्रममा शिक्षामन्त्री अशोककुमार राईले योगाभ्यास र अध्ययनलाई विद्यालय तहदेखि नै अपनाउँदै जान नीतिगत र कार्यक्रममिक योजना तर्जुमा गरिएको बताए। उनले प्रदेश र स्थानीय तहलाई पनि दिवस मनाउन आह्वान गरिएको जानकारी दिए। दिवसका अवसरमा आज बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरि सुरु भई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मूल कार्यक्रम आयोजना गरिएको हो। संयुक्त राष्ट्रसंघको आह्वानअनुसार नेपालमा पनि आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा दिवस मनाउने प्रस्ताव पारित भई सन् २०१५ जुन २१ तारिखदेखि यो दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्