काठमाडौं । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ। चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो।
विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।
पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ। उहाँले पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा हर्षित भएको सामाजिक सञ्जालमा व्यक्त गरेका छन्। उक्त जहाजबाट हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुनलागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरा ओर्लने बताइएको छ। सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौँ उड्ने गरी उडान तालिका तय गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो। विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो। विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो।
चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो। उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो।
पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)लेसमेत सहयोग गरेका छन्। बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ।रासस



लोकपाटी न्यूज

