काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रममा उनले सामाजिक रूपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रूपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो।’ उनले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वलाई आफूले सधैँ उच्च मूल्यांकन गर्ने गरेको बताए।
‘मानव समाजको विकास पनि नवीन सोचको खोजीका क्रममा भएको हो। मानव र अरू प्राणीबीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले भने, ‘अहिले २१औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरूलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ। मलाई विश्वास छ, तपाइँहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहन गर्न आ-आफ्नो ठाउँबाट चिन्तन मनन गरिराख्नुभएको छ।’
वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताए। उनले भने, ‘त्यसका लागि आफैँभित्र सबैभन्दा पहिला सुशासन सुरुआत गर्नुपर्दछ।’ प्रधानमन्त्री प्रचण्डले नेपालमा कर्मचारीभित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गरे।
उनले स्थायी सरकारका रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रूपले प्रभाव पार्ने बताए। कर्मचारीतन्त्र भित्रबाट पनि नवीन सोचका साथ सृजनात्मक ढंगले आफ्नो काम अझ प्रभावकारी तवरले गर्दै परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै उनले जुनसुकै क्षेत्रको पनि विकास र प्रगति सही विचारबाट नै हुने भएकाले त्यसमा केन्द्रित हुन आग्रह गरे।



लोकपाटी न्यूज

