लुम्बिनी। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्य लाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित ‘शान्ति र सद्भावका लागि योग अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले महर्षि पतञ्जलिले वैज्ञानिकरूपमा सूत्रबद्ध गरे पनि यसका लागि धेरै ऋषिमुनिले योगदान दिएका र त्यसमध्येमा गौतमबुद्धको नाम अग्रपङ्क्तिमा आउने बताए।
नेपाल र भारतबीचको सम्बन्ध दुई हजार तीन सय वर्षअघि देखिको व्यापार सम्बन्धिबाट सुरु भएको बताउँदै मन्त्री किराँतीले प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताए। उनले रामबिना नेपाल र सीता बिनाभारत अपूर्ण हुने पनि स्पष्ट पारे। मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई मार्गका विषयमा भारत सरकारसँग छलफल सकारात्मक रहेको बताए।
लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पताञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय योग दिवस २०२३ का अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई योगले पनि जोडेको बताए। उनले नेपाल-भारत सम्बन्ध युगौँदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप प्रगाढ बनेको छ भने। राजदूत श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाई मार्गबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।



लोकपाटी न्यूज

