काठमाडौं। जनमत पार्टीका सांसद डा. सिके राउतले संसद्मा बजेटमाथि औपचारिकताका लागि मात्रै छलफल गर्नाको कुनै अर्थ नरहने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको उल्लेख गर्दै सो कुरा बताएका हुन्।
बेरोजगारी नेपालको ठूलो समस्या रहेकाले यसलाई समाधान गर्न र मुलुकभित्रै रोजगारी सिर्जनाका लागि प्रस्तुत बजेट केन्द्रित हुन नसकेको उनको भनाइ थियो। ‘कुनै योजना र दृष्टिकोण नै नभएको बजेट आएको छ। पहुँचका आधारमा बजेट बनेको छ,’ सांसद राउतले भने, ‘उदाहरणका लागि वैकल्पिक सहायक राजमार्ग र विकास कार्यक्रमलगायत कार्यक्रमका लागि सरकारले छुट्याएको रकम पहुँचका आधारमा वितरण भएको छ। पाँच लाखका लागि पुल राखिएका छन्। पाँच लाखमा कस्ता पुल बन्ने हुन् ?’
उनले बजेट बनाउँदा शीर्ष राजनीतिक दलका नेतृत्वकर्ता र मन्त्रीहरूको जिल्लामा बजेट थुप्रिएको बताए। राउतले भने, ‘बजेट बनाउँदाखेरि निर्माणकर्ताको जिल्लामा बजेट थुप्रिएको छ। अधिकांश बजेट प्रधानमन्त्री, काँग्रेस पार्टी सभापति, अर्थमन्त्री र मन्त्रीको जिल्लामा थुप्रिएको छ। मलाई त लाग्दैछ सांसद बन्नै नहुने बनेपनि सांसद र मन्त्री हुनुपर्ने अभाष हुन थालेको छ।’
उनले बजेटले युवा लक्षित कार्यक्रम ल्याउन नसकेकोप्रति असन्तुष्टि जनाए। बजेटमा रोजगारी, कृषिका कार्यक्रम प्राथमिकतामा नपारिएको उनले बताए। मधेश प्रदेशलाई देशभरको करिब साढे ४ प्रतिशत बजेट मात्रै छुट्याइएको बताए। राउतले भने, ‘मधेश प्रदेशले जति राजस्व दिएको छ, त्यसको २० प्रतिशत बजेट पनि मधेशमा फिर्ता गएको छैन। मधेशमा औपनिवेशिक शासन लादिएको छ।’
बजेट ल्याएको हो कि बजेट लुटेको हो स्पष्ट नदेखिएको बताए। राउतले भने,‘बजेट बनाएको होइन, ल्याएको होइन, बजेट देख्दा लुटेको जस्तो देखिन्छ। यो सरकारले लुट्ने क्रम जारी राखेको छ। वैशाखमा बारामा मतपेटिका लुटे, र अहिले जेठमा आएर बजेट लुट्ने काम भइरहेको छ। लुट्ने प्रवृत्ति क्रमिकरुपमा जारी नै छ।’



लोकपाटी न्यूज

