बजेटमा महिला र मधेसलाई उपेक्षा गरियो : सांसद यादव

Rajkishor_Yadav
लोकपाटी न्यूज

काठमाडौं। सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्षा गरिएको भन्दै सच्चाउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उनले बजेट विनियोजन सन्तुलित रुपमा नभएको गुनासो गरे।

उनले भने, ‘बजेटले महिला र मधेसलाई विभेद तथा उपेक्षा गरेको छ। मन्त्री र प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, मधेशसँग के रिस उठेको हो ? मधेशलाई किन उपेक्षा र विभेद गरिएको हो ?’ छलफलमा भाग लिँदै सांसद भानुभक्त जोशीले बजेटको विनियोजन आवश्यकता आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन गरिएकाले सच्चाउनुपर्ने बताए।

उनले नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार वन तथा वातावरण मन्त्रालयका लागि बजेट विनियोजन नभएको बताए। ‘बझाङ जिल्लाको विभिन्न स्थानमा पहिरो नियन्त्रण र वृक्षारोपणका तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि मन्त्रालय र विभागमा निवेदन दिएको थिए। तर दुई वटा सिँचाइ कुलो, सुविद्यासम्पन्न शौचालय र प्रतीक्षालयमा केही रकम विनियोजन गरिएको रहेछ,’ उनले भने, ‘कसको सुझावमा आउँछ बजेट ? यस्तो बजेटलाई कसरी समर्थन गर्ने ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्