काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको औपचारिक भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटका हुन्।
भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराए। ‘राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आजदेखि हुने भारत भ्रमणबारे जानकारी गराउनुभएको हो,’ राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री प्रचण्ड बुधबार चार दिने भारत यात्रामा निस्कँदै छन्। गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग बिहीबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्दै छन्। दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको वार्ताका लागि समय छुट्याइएको छ।



लोकपाटी न्यूज

