काठमाडौं। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ। पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा-मिठा परिकार बनाएर दर खाने गरिन्छ। सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ। माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ।
मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्।
पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक-भडक मौलाउँदै गएको छ। विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन्। तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ।



लोकपाटी न्यूज

