- विश्वेश्वर कट्टेल
समाजवाद १८औँ शताब्दीबाट विकास हुन पुगेको विचार धारा हो। राज्यको आडमा धनीले गरिबमाथि सीमाहीन अन्याय-अत्याचार गरे। निरीह बनेका मानिसका आँसुको दहबाट, उनीहरूका चित्कार र पुकारका गुञ्जनबाट, खपेका असहनीय पीडा र वेदना देख्न नसकी नरमखाले बोध्दिक पुँजीवादी पक्षधरले त्यस परिवेशविरुद्ध, शासनको विकल्पमा चालिएको कदमको परिणाम स्वरूप पैदा भएको मानवीय भावना समाजवाद हो। समाजवादको स्वरूप निर्धारणका लागि विभिन्न क्रान्तिकारी विचारक, सुधारकको महत्त्वपूर्ण योगदान छ। समाजवादका बारे सयौं दार्शनिक विचारकहरूले विभिन्न तरिकाले परिभाषा गरेका छन्। यसलाई मानव कल्याणको सिद्धान्त भनिन्छ। यसले वर्गीय चेतना र वर्ग संघर्षमा विश्वास राख्दछ। समाजवादलाई विज्ञानको रूपमा प्रस्तुत गर्ने वैज्ञानिक समाजवादका प्रणेता कार्लमार्क्स हुन्। समाजमा शान्ति, भ्रातृत्व र सद्भाव विकास गर्ने साधन समाजवाद हो। हामी यहाँ मार्क्सवादी समाजवाद प्राप्तिका लागि समाजवादी शिक्षाको आवश्यकता बारेमा केही विषयवस्तु समेट्न प्रयास गरेका छौं।
समाजवादी शिक्षा बोध गर्न आवश्यक
१. मार्क्सवादले समाज बुझ्न सघाउँछ र समाजबाटै मानवको सर्वोत्तम हित हुन्छ भनेर जनतालाई सिकाउन र यसले क्रान्तिकारी पद्धति र वर्गीय संकल्प स्थापित गर्न सक्ने उच्च बौद्धिक चेतना युक्त समाज निर्माण गर्न सक्छ भनी बोध गर्ने साधन।
२. कम्युनिस्ट पार्टीहरूमा विचार धारात्मक तथा सैद्धान्तिक ज्ञानको उत्पादन र पुनरुत्पादनका संरचना निर्माण गर्न पर्दो रहेछ भन्ने चेतनाको विकास गराउन।
समाजवादी शिक्षा किन
१. आन्दोलनका अगुवाहरू असैद्धान्तिक बन्दै गएका कारण पार्टी र तिनका भातृ संगठन स्वतः असैद्धान्तिक बन्दै छन्। त्यसलाई रोक्न।
२. पार्टीभित्र अनुशासन कुन चराको नाम हो ? भनेर खोज्नपर्ने अवस्था सिर्जना भएको छ। प्रकृतिको जस्तै पार्टीभित्र पनि पद्धति विकास गर्न।
३. समाजलाई विहंगम दृष्टिले हेर्ने, नियालेर देख्ने (ठम्याउने) र समाजको सबै मर्म र भेदहरू बुझ्ने सवालमा हचुवा प्रवृत्ति देखा परेको छ। यसका लागि वस्तुवादी बन्न र पार्टीलाई आधारभूत तहका जनतासँग जोड्न प्राथमिकता दिन।
चुनौतीमा परिवर्तन
१. नेपालको कम्युनिस्ट आन्दोलन, गुट-परस्त र फुट-परस्त बन्दै तितरबितर हुन पुगिरहेको चुनौतीमा परिवर्तन ल्याउन।
२. नेपालका कम्युनिस्ट आन्दोलनले विश्व कम्युनिस्ट आन्दोलनलाई ठूलो गुन लगाउन सक्दथ्यो, यही अवस्थामा त्यो गुन लगाउन सक्ने सम्भावना छैन। सम्भावना दर्शाउन।
३. प्रतिक्रियावादीको साँठगाँठ चर्कँदै छ, अवसरवादी दलाल र नोकरशाही प्रवृत्ति हाबी हुँदै छ र कम्युनिस्टको नाममा कम्युनिस्ट आन्दोलन सेलाउने काम गरिँदै छ। रोकथाम गर्न।
४. कम्युनिस्टहरूलाई बदनाम गर्न प्रतिक्रियावादीहरू कम्युनिस्ट पार्टी नै खुलेर लागिरहेका कारण समाज असैद्धान्तिक र विश्रृङ्खलित बन्दै गएको छ। यसलाई रोक्न।
५. कम्युनिस्ट पार्टीहरूमा समाजवादी बौद्धिक संस्थाहरू संस्थागत रूपमा विकास हुन सकेको छैन। पुँजीवादका भ्रमहरू चिर्न र तिग्डमका खेलहरू बुझ्न सक्ने शक्तिको विकास हुन सकेको छैन। स्फूर्तरूपमा स्थापना भएका समाजवादी अध्ययन केन्द्रहरू नाम मात्रका हुन बाध्य छन्। उनीहरूलाई निरुत्साहित बाहेक कहीँ कतैबाट प्रोत्साहन हुँदैन भने समाजवाद बेचेर ब्रह्मलुट मच्चाउन अभ्यस्त समाजवादी संस्था पनि देखिन्छन्। यसको अन्त गर्न।
६. पठन संस्कृति प्रायः ठप्प जस्तै छ। वैचारिक बहस छलफलका कुरा दन्त्यकथा जस्तै बनेका छन्। पठन संस्कृति विकास गरी वैचारिक बहस चलाउन।
७. कम्युनिस्टका नाममा दलाल, कमिसन खोर, भ्रष्टाचारी, व्यभिचारी, सुद खोर कामचोर प्रवृत्ति मौलाएको छ र कम्युनिस्ट आन्दोलनलाई विक्षिप्त तुल्याएको छ। कम्युनिस्ट आन्दोलन बचाउन।
८. जनतालाई कम्युनिस्ट देखि टाढा पुर्याउन देशी विदेशी शक्ति केन्द्रहरू हरेक चालबाजी खेल्दै माहिर सिकारीको रूपमा देखापरिरहेका छन्। पहिचान गर्न।
९. अब के गर्ने त ? पहिला, समाजवादी शिक्षा अध्ययन संस्कृतिको विकास गर्ने। त्यसका लागि अध्ययन गर्ने गराउने संस्थाको निर्माण गर्ने।
१०. कसले गर्ने ? आजका युवाहरूले कम्युनिस्ट आन्दोलनमा लागेर, कम्युनिस्ट आन्दोलनलाई जगाउन, जोगाउन र यसलाई मजबुत तुल्याउँदै वैचारिक शक्तिको विकास गर्ने जिम्मेवारी बहन गर्नु पर्दछ भन्ने भावना विकास गराउन।
पलायन रोक्न
१. कसैले गर्दैन भनेर गुनासो मात्र गर्यौं भने हामी कम्युनिस्ट ठहरिँदैनौं। गुनासो कमजोरीको पराकाष्ठा हो। कमजोरीले नेपालमा कम्युनिस्ट व्यवस्था फस्टाउँदैन। जहाँ कम्युनिस्ट शक्ति पलायन हुँदै जान्छ, त्यहाँ समाजवादको प्राप्ति हुन सक्दैन। यसलाई रोक्नै पर्छ।
२. हामीले अब आजैदेखि अहिल्यैदेखि मार्क्सवादी शिक्षाका लागि एकजुट भई नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन र वामपन्थी शक्तिको विकासका लागि यो अभियानमा सहभागी हुन पर्दछ भन्ने यस आलेखको सन्देश हो।
३. समाजवादी शिक्षा समयको आवश्यकता हो। यो एउटा प्रयास हो। हामी सबैको प्रयत्न हो। हामीले गरेपछि न हुन्छ। त्यसैले समाजवादका बारेमा यही अभियानमा होमिएपछि धेरै थाहा हुन्छ। बाहिर बसेर गफ हुन्छ, अरू केही हुँदैन। नेपालका सबै वामपन्थी बुद्धिजीवीले यसको गहनता र मर्मलाई आत्मसाथ गर्नै पर्छ र समाजवाद प्राप्तिको यस महान् अभियानमा समेटिन र जोडिनु समयको आवश्यकता बनेको छ।
क्षमता विकासका लागि
१. समाजलाई गतिशील परिघटनाको रूपमा बुझ्ने क्षमताको विकास गर्नुपर्छ।
२. समाजवाद प्राप्तिका लागि व्यक्ति स्वयंले आफ्नो चेतना र क्षमतामा वृद्धि गर्न जरुरी छ भन्ने कुरा बोध गर्ने। यसका लागि समयले दिएका विधि र प्रविधिको सही सदुपयोग गर्दै खोज, अध्ययन, अनुसन्धान र प्रयोगको मामिलामा सधैँ अग्र दस्ताको रूपमा काम गर्नु पर्दछ।
३. सामूहिक एकता र सद्भावका साथ हामी सबै एकै सोच, चिन्तन, ताल, लय र शक्तिका साथ उच्च मनोबल बनाएर आन्दोलनमा सहभागी हुनु पर्दछ।
समाजवाद बुझ्न
१. आजको युगमा समाजवाद जीवनको एक आदर्श पद्धति हो। सच्चा जीवनको अनुभूति हो। आदर्श जीवनको पर्याय हो। यो आफैमा एउटा सिद्धान्त



लोकपाटी न्यूज