काठमाडौं। युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने ‘प्ले अफ’ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ।युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ। तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ।
स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युएईएफए र स्कटल्याण्डसँग छलफल गरेर यसबारे उचित निर्णय लिने जनाएको छ।
युक्रेनको अनुरोधको पुष्टि गर्दै, एक प्रवक्ताले थपे, ‘फिफाले युक्रेनमा भइरहेको घटनाबाट प्रभावित सबैलाई आफ्नो ऐक्यबद्धता व्यक्त गर्दछ र समयमै थप अपडेट प्रदान गरिनेछ।’
यसै हप्ताको सुरुमा स्कटिश एफए अध्यक्ष रोड पेट्रीले आफ्नो युक्रेनी समकक्षीलाई सन्देश लेख्दै ‘संघर्षको बीचमा फुटबल अप्रासंगिक छ’ भनेका थिए। पेट्रीले ‘समर्थन, मित्रता र एकताको सन्देश पठाउन’ समेत लेखेका थिए।



लोकपाटी न्यूज

