कांग्रेसकाे १४ औं महाधिवेशन : के भन्छन् देउवा ?

लोकपाटी न्यूज

काठमाडाैं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने प्रस्ट पारेका हुन्।

उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए। उनले पार्टी महाधिवेशन स्वच्छ रूपमा हुनुपर्ने भन्दै जित र हारले पार्टीभित्र दुश्मनी बढाउन नहुने बताए।

उनले भने ‘अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित हारमा दुश्मनी नबढोस्, जसले जे भने पनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ।’

प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे। बेलायतमा मन्त्रीहरूले एस्ट्राजेनेकाको खोप तीनपल्ट लगाउनुपर्ने बताएको भन्दै उनले सबैले तीनपटक एस्ट्राजेनेकाको खोप लगाउन आग्रह गरे।