सरकार गतिशील हुन सकेन : गगन थापा

gagan Thapa
लोकपाटी न्यूज

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं । फेरि हामीले अव अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ ।’ उनले भने, ‘आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वर्ल्डको ईकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ।’

काँग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे। उनले देशलाई बनाउने हो भने सबैले आ-आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।