जलवायुसम्बन्धी खाेज गर्ने तीन जना वैज्ञानिकलाई भौतिक विज्ञानतर्फकाे नोबेल पुरस्कार

लोकपाटी न्यूज

काठमाडाैं। भौतिक विज्ञानतर्फकाे नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएकाे छ। वैज्ञानिकहरू स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले साे पुरस्कार प्राप्त गरेका हुन् ।

स्विडेनको स्टकहोममा नोबेल एसेम्बलीले तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा भाैतिक विज्ञानतर्फकाे पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न उनीहरूले गरेकाे खोजका लागि सन् २०२१ को नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

९० वर्षका मानाबे र ८९ वर्षका हसलम्यानले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानबारे संयुक्त खोज गरेका थिए । ७३ वर्षका वैज्ञानिक पारिसीले परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको खोज गरेका थिए।

मानाबे र हसलम्यानलाई पुरस्कारको आधा रकम र पारिसीलाई आधा रकम दिने नोबेल एसेम्बलीले जनाएको छ । नोबेल पुरस्कार विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशि भएको पुरस्कार हो ।