राजेन्द्र बिक/बाजुरा,१३असोज। वर्षादका कारण तीन महिनादेखि अवरुद्ध बनेको बाजुराको मुख्य सांफे मार्तडी सडक खण्ड सुचारु भएको छ। २०५१ सालमा शिलान्यास गरिएको अछामको साँफे बगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक असार १५ गते बाट अवरुद्ध भएको थियो ।
तीन महिनापछि सडक विभागले पुनः पहिरोले भत्किएको ठाउँमा मर्मत गरेपछि बाजुराको सदरमुकाम मार्तडीसम्म सडक सम्बन्ध जोडिएको छ। यो सडक जोडिँदा बाजुरा, हुम्ला र मुगुका स्थानीयलाई आवत जावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको हो । साँफे-मार्तडी सडक खण्डअन्तर्गतको बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौ ठाउँमा हरेक वर्षजस्तै यस वर्ष पनि पहिरो गएपछि तिन महिनादेखी यहाँका नागरिकले सास्ती भोग्नु परेको थियो ।
‘वर्षाद रोकिए लगतै हामीले काम शुरु गरेका थियौं । आजबाट साना गाडी र ट्याक्टर चल्ने भएको छ भोली सम्म बस समेत संचालन हुने गरी बनाई सक्ने योजना रहेको छ। पानी बढी भएको ठाउँमा होम पाईप र अन्य पाईपको प्रयोग समेत गर्ने योजना बनाएका छौं । अब बाटोका कारण जनताले सास्ती पाउँनु पर्दैन।’ सडक बिभागका ईन्जिनियर दमन बिष्टले भने ।
सडक शिलान्यासको २७ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । कुनै वर्षामा पनि ढुक्कसाथ सडक सञ्चालन भएको छैन । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब पौने दुई अर्ब बजेट खर्च भइसकेको छ । पहाडी क्षेत्रमा प्रतिकिलोमिटर चार करोड बजेट कालोपत्रेमा खर्च हुने गरेको छ ।
यति ठूलो मात्रामा खर्च गर्दा पनि जिल्लावासीले वर्षेनी सास्ती खेप्नु दुःखद् विषय बनेको छ । त्यही ठाउँमा सडकको अवस्था त्यस्तै रहिरहने हो भने वैकल्पिक रुटको विकल्प खोजेर पनि नियमित नागरिकलाइ यातायात सुविधा दिइने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्। तीन महिनादेखि अवरुद्ध सडक संचालनमा आएपछि यहाँका स्थानीयबासी निकै खुशी भएका छन्।



लोकपाटी न्यूज
