‘एमालेमा विधान संशोधनका लागि सुझाव लिन थालियो’

KP sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ। मुलुकको संघीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल सुरु गरेका हुन्।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरिएको छ। त्यस्तै असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सो अघि साउन २४ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ।

वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकले एकताका लागि अध्यक्ष ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णयप्रति माफी माग्नुपर्ने लगायतका प्रस्तावबारे सोधिएको प्रश्नमा प्रवक्ता ज्ञवालीले टिप्पणी नगर्ने बताए।

उनले अनन्तकालसम्म पार्टीका गतिविधिलाई अवरुद्ध गरेर जान नसकिने बताए। बिहीबारदेखि काठमाडौंमा जारी नेता नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएको छ।

नेता रघुजी पन्तले गत असार २७ गते विवाद समाधान कार्यदलले तयार गरेको सहमतिको आधार र नेताबीचको लगातारको पहलका आधारमा एकता हुनुपर्ने तर शीर्ष नेतामाथिको लाञ्छना युक्त अभिव्यक्ति बन्द हुनुपर्ने बताए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्