नेपाल पक्षको बैठकमा १० बुँदे सहमतिबारे भीम रावलको ब्रिफिङ

Bhim_Rawal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेमा असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय समितिका सदस्यहरूको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ। बैठक बस्नु अघि सोही पक्षीय स्थायी समितिका सदस्यहरूको बैठक पनि बसेको थियो।

काठमाडौंको बुद्धनगरमा ७० भन्दा बढी सदस्य सहभागी बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिए। नेपाल पक्षले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ।

बैठकको सुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राखेको र त्यसपछि उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए। रावलले बैठकमा १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका छन्।

उनले कार्यदलले गरेको सहमतिबारे बुँदा बुँदामा व्याख्या गरेका थिए। रावलले १० बुँदे सहमति कसरी भयो र यसको औचित्य के हो भन्नेबारे बोलेका थिए। वार्ता र एकताको प्रक्रिया चलिरहेको अवस्थामा अध्यक्ष केपी ओली पक्षले सदस्यता नविकरणको काम थालेको भन्दै आपत्ति जनाइएको थियो। रावलले एकताको प्रक्रिया पुरा गरेपछि मात्र सदस्यता नविकरणको काम थाल्नु पर्ने कार्यदलमा भनेका जानकारी दिएका थिए। बैठक शुक्रबार बिहान साढे ११ बजे पुन: बस्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्