चितवन। रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सार्वजनिक जग्गा संरक्षणका विषयमा कसैसँग सम्झौता नगर्ने बताएका छन्। बिहीबार टाँडी बजारमा फिर्ता गरिएको सार्वजनिक जग्गामा बहुउद्देश्यीय भवनको शिलान्यास कार्यक्रममा बोल्दै मेयर वनले सार्वजनिक सम्पत्ती कब्जा गरेर मालिक हुने सपना नदेख्न भूमाफियाहरुलाई चेतावनी दिए।
मेयर वनले भने, ‘सार्वजनिक सम्पत्ती जोगाउने हाम्रो दायित्व हो यो विषयमा हामी विक्दैनौ र कसैसंग चुक्दैनौं। सार्वजनिक जग्गा संरक्षणको क्रममा दर्जनौं मुद्दा खेप्नु परेको छ। मुद्दा खेपेरै भएपनि सार्वजनिक जग्गा जोगाउन सफल भएकोमा आत्मसन्तुष्टि भएको छ कतिपय मुद्दाहरु हामीले जित्यौं उनले भने अझै पनि अदालतमा मुद्दा छन्,यसले हामीलाई केही असर गर्दैन।’
मेयर वनले सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरुबाटै आफूले लुटपाटको मुद्दा खेपिरहेको बताए। वडा नं ७ का वडाध्यक्ष राजन भट्टले सार्वजनिक सम्पत्ती संरक्षणको विषयलाई राजनीतिसंग नजोड्न आग्रह गरे। सार्वजनिक जग्गा फिर्ता गर्ने क्रममा केही राजनीतिक दलका नेताहरु स्थानीयबासीलाई उचालेर भोटको राजनीति गर्न सुरु गरेको वनको भनाई छ।
रत्ननगर नगरपालिकाको ३९ लाख २३ हजारको लगानीमा शौचालय सहितको व्यवसायिक भवन निर्माण हुने पूर्वाधार समितिका संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिए। सो भवनलाई पूर्णता दिन चालु आर्थिक वर्षमा पनि ३० लाख रुपैया विनियोजन गरिएको उनले जानकारी दिए। वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी,रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी, टाँडी टोल विकास संस्थाका अध्यक्ष रामेश्वर भट्टराई,कार्यपालिका सदस्य राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए।



लोकपाटी न्यूज

