काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए।
तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय दलको कार्यलयमा उनी उपस्थित भएपछि पुनः फर्किएकी हुन्।
माओवादी संसदीय दलका एक सदस्यका अनुसार दलको कार्यालयमा उपस्थित भएर आफूलाई मुख्यमन्त्रीको कार्यलयमै राखिएकोले सम्पर्कबाहिर रहेको बताएकी छन्। उनी कार्यलयमा बिहान ११ बजे उपस्थित भएकी थिइन्।माओवादी संसदीय दलको कार्यालय स्रोतले भन्यो, ‘उहाँ हामीसामु रुनु पनि भयो। उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन सकिन।
वलीले आफूलाई मुख्यमन्त्रीको कार्यलयमा राखि बन्धक बनाएर नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा सार्वजनिक गरेको पनि बताएको खुलेको छ। वलीले आजै पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएकी छन्।
दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो।तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो। माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानवीन गर्न सरकारसँग माग गरेको थियो।
आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन्। उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन्। प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन्।
विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ। प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ।



लोकपाटी न्यूज

