रमेश भुसाल/परासी, १६ साउन। पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ स्थित भतौडी गाउँमा शनिबार डष्टविन वितरण गरिएको छ। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासी र ईको लाईफ नेपालको संयुक्त आयोजना एवं वास पत्रकार समूह नवलपरासीको सहआयोजनामा शनिबार भतौडीमा एक कार्यक्रम गरी डष्टविन वितरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेड भूमहिका अध्यक्ष एवं समाजसेवी डोलराज भण्डारीले वातावरण र पर्यावरण स्वच्छ भएमात्र मानव निरोगी हुने भएकोले वातावरण स्वच्छ राख्ने अभियानमा सबैको होतमालो आवश्यक रहेकोमा जोड दिए।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ल अध्यक्ष राजकुमार श्रेष्ठले भतौडी गाउँलाई सुन्दर र सफा बनाउने अभियानका लागि डष्टविन वितरण गरिएको बताए। उनले डष्टविनको सही सदुपयोग गरी कुहिने र नकुहिने फोहोर छुट्टाएर व्यवस्थापन गर्न आग्रह गरे। यो अभियानलाई अन्य स्थानमा पनि निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले बताए।
वास पत्रकार समूह नवलपरासीका अध्यक्ष मोहन पौडेलले सरसफाइ मानवको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकोले रोगबाट टाढा हुन जथाभावि फोहोर फाल्ने कार्य बन्द गर्नुपर्ने बताए। भतौडी गाउँमा यात्रा गर्ने बटुवा तथा यात्रीहरु र गाउँलेहरुले सडकमा यत्रतत्र फाल्ने फोहोर विसर्जनका लागि दश वटा डष्टविन वितरण गरिएको ईको लाईफ नेपालका अध्यक्ष दुर्गाप्रसाद केवटले बताए।
खानेपानी महासंघका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य बलबहादुर थापा, समाजसेवी मोहन चौधरी, सूर्यप्रकाश चौधरी लगायतले पनि बोलेका थिए। कार्यक्रममा खानेपानी महासंघका जिल्ला उपाध्यक्ष तारा सुनार, सचिव देवीदत्त सापकोटा, स्थानीय जनप्रतिनिधि, सन्चारकर्मी, स्थानीयवासी लगायतको सहभागिता रहेको स्थानीय अभियान्ता मदन सुवेदीले मन्तव्य राखेका थिए।



लोकपाटी न्यूज

