काठमाडौं। जसपाको आधिकारिकता उपेन्द्र यादवले प्राप्त गरिसकेपछि आज महन्थ ठाकुरले आफ्नो पक्षका कार्यकारिणी सदस्यको बैठक बोलाएका छन्। जनता समाजवादी पार्टी नेपालको सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय, सर्वोच्चमा दायर रिट, नयाँ पार्टी गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।
बबरमहल पार्टी कार्यालयमा एक बजेका लागि बैठक बोलाइएको भए पनि अझै सुरु हुन सकेको छैन। ठाकुरको पक्षबाट दायर गरिएको रिटमाथि अदालतमा बहस भएको कारण बैठकमा ढिलाइ भएको हो।
यस्तै महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गराएका छन्। गत साउन ११ गते जसपामा भएको हेडकाउन्टपछि निर्वाचन आयोगले बहुमतका आधारमा उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएको थियो।
आयोगको उक्त निर्णयको खारेजीको माग गर्दै ठाकुर पक्षले आज सर्वोच्चमा रिट दायर गरेको हो। यसअघि हेडकाउन्ट गर्न निर्वाचन आयोगले दिएको आदेशलाई रोक्न रिट दायर गरिएको थियो। उक्त रिटको फैसला नआइ अर्को दायर गरिएको हो।



लोकपाटी न्यूज

