ओलीले गरेका नियुक्ति खारेज गर्ने निर्णय

gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिको खारेजी प्रक्रिया अघि बढाउने समझदारी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारूढ गठबन्धनको बैठकले कानूनीरूपमा परिपक्व बनाएर नियुक्तिको खारेजी प्रक्रियालाई अघि बढाउने समझदारी गरेको हो।

साथै बैठकले छिट्टै सरकार विस्तार गर्ने र राजनीतिक नियुक्तिहरुको टुंगो लगाउनुपर्ने निष्कर्ष पनि निकालेको छ। सरकार विस्तार छिटो गरेर मुद्दा नपर्ने गरी राजनीतिक नियुक्ति खारेज गरी सोही आधारमा नियुक्ति प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

‘सत्ता गठबन्धनको आजको बैठकमा सैद्धान्तिक कुरा भयो, सरकार विस्तारलाई छिटो टुंग्याएर राजनीतिक नियुक्तिहरू गर्ने समझदारी बनेको छ,’ खड्काले भने, ‘राजनीतिक नियुक्ति गर्दा मुद्दा मामिला नलाग्ने हिसाबले गर्नुपर्छ भन्ने सुझाव आएको छ।’ बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ।

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ। आजै माधव नेपालसहित शीर्ष नेताहरू पुनः छलफल गर्ने र सरकार सञ्चालनका विषयमा सहमति गरिने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्