काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ। सोमबार काठमाडौंमा बसेको सो पक्षको स्थायी समिति सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए।
उनले मूल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउँदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए। पन्तले आफूहरूको गतिविधि र कामकारबाहीहरूले एकताको वातावरण भत्काउने काम हुनेमा बैठकले जोड दिएको उनको भनाइ छ। बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ।
‘पार्टी एकताका लागि भएका प्रयासहरू धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासहरूलाई छिटो टुंगोमा पुर्याउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो। सबै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्।’ पन्तले भने। बैठकमा नेताहरूले सम्मानजनक एकता गर्नुपर्ने सुझाव दिएका छन्।
‘पार्टी एकतालाई कसरी पूर्णता दिने भन्ने विषयमा आजको बैठकमा छलफल भयो,’ पन्तले भने, ‘सम्मानजनक एकता गर्नुस्, त्यसको प्रक्रिया पुर्याउनुस्। त्यसमै दुवै पक्षको भलो हुने नेताहरूले सुझाव दिनुभयो।’ नेपाल पक्षको स्थायी समिति बैठक आइतबार पनि बसेको थियो। आइतबारको बैठकमा पार्टी एकताका लागि विवाद समाधान कार्यदलले तयार पारेको प्रस्तावबारे छलफल भएको थियो।



लोकपाटी न्यूज

