काठमाडौं। आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ। संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानामाथि गठबन्धन खनिएको हो।
आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय समितिमा सांसद रानाले वर्तमान सरकार जनताको जनमतले नभई सर्वोच्च अदालतका परमादेशले बनेको अभिव्यक्ति दिएसँगै गठबन्धन उनीमाथि खनिएको हो। सांसद रानाले संसद पुनःस्थापना र वर्तमान सरकारको गठन जनमतले नभई सर्वोच्च अदालतको परमादेशले बनेको अभिव्यक्ति दिएका थिए। सांसद रानाबाट उक्त अभिव्यक्ति आएसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले प्रतिकार गरेका थिए।
त्यस्तै वरिष्ठ नेता माधव नेपालले सांसद रानाको उक्त अभिव्यक्तिलाई प्रतिगमनको संज्ञा दिँदै बैठकबाट उनलाई बाहिरिन निर्देशन दिए। तर सांसद रानाले आफूलाई समितिको बैठकमा आमन्त्रित गरिएकाले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गरेका थिए।
त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए। सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए। बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेकी थिइन्।



लोकपाटी न्यूज

