काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्। आइतबार महासचिव विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मालाई लिएर यादवलाई भेट्न उनको निवासमा पुगेका थिए।
अघिल्लो हप्तादेखि विप्लवले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा बादल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटिसकेका छन्।
विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा विभिन्न दलका शीर्ष नेतासँग संवाद गरिरहेका छन्। विप्लवले आफ्ना नेता कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गरेर रिहा गर्नुपर्ने माग उठाउँदै आएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सम्झौता गरेर विप्लव नेतृत्वको नेकपा ‘भूमिगत’ गतिविधि त्यागेर ‘खुला’ राजनीतिमा आएको थियो।



लोकपाटी न्यूज

