यी ५ एजेण्डामा निर्णय लिन जसपाको बैठक जारी

Bhattarai_Yadab
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ। सांसद मोहम्मद इस्तियाक राईकाअनुसार बैठकमा ५ एजेन्डा रहेका छन्।

समसामयिक राजनीतिक, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखीकरण, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने लगायतका एजेन्डा बैठकका रहेका छन्।

पार्टीमा उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विषयलाई लिएर विवाद छ। यही विवाद सल्टाउन आधिकारिकता विवादमा सनाखतका लागि निर्वाचन आयोगले कार्यकारी सदस्यहरूलाई नै उपस्थित हुन बोलाएको छ। आयोगले साउन ११ गते ११ बजे नागरिकतासहित कार्यकारी सदस्यहरूलाई उपस्थित हुन भनेको छ।

यादव पक्षले केन्द्रीय कार्यकारिणीको बहुमत निर्णयसहित दाबी गरेको छ। जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षकै बहुमत छ। यता, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले आयोगको हेडकाउण्ट गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ। सोही विषयमा छलफल गर्न ठाकुर पक्षले पनि आजै कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टी भित्रको विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेन्डा बैठकको रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्