काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कित्ता परिवर्तन गरेका छन्। लामो समय एमाले वरिष्ठ नेता माधवकुमार नेपालको साथमा रहेका उनी अध्यक्ष केपी शर्मा ओली कित्तामा पुगेका हुन्।
रावलले एमालेमा महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन्। उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने गरी ओलीले पक्षमा पारेका हुन्। रावलले यसअघि सांसद पदबाट राजीनामा दिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएनन्।
उनी त्यतिबेलासम्म माधव नेपालसँग निकै असन्तुष्ट भइसकेका थिए। एमालेभित्र पकडका हिसाबले तेस्रो शक्तिशाली बनेका रावलको कित्ता परिवर्तनले शक्ति सन्तुलनमा निकै फरक ल्याउने देखिएको छ। उनीसहित ११ सांसदले विश्वासको मतको पक्ष र विपक्ष कतै मतदान गरेनन्। रावल सुदूरपश्चिम र कर्णाली प्रदेशमा राम्रो पकड बनाएर शक्तिशाली देखिएका छन्।
रावलको कित्ता परिवर्तनले एमालेभित्र तरंग नै ल्याएको छ। माधव नेपाल पक्ष गम्भीर भएको छ। रावललाई ओली पक्षमा जान नदिन माधव नेपालले प्रयास गरेका थिए। तर, उनी सफल हुन सकेनन्। अझैपनि रावललाई तान्न नेपाल पक्ष सक्रिय भएको छ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्। रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए।



लोकपाटी न्यूज

