काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले यही साउन २० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको स्थायी समिति बैठकले पार्टी निर्माणलाई गति दिन केन्द्रीय समिति बैठक डाक्ने निर्णय भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।
‘पार्टी निर्माणलाई गति दिने गरी केन्द्रीय कमिटीको बैठक साउन २० बाट ११ बजेदेखि शुरु हुने भएको छ,’ श्रेष्ठले भने, ‘तयारीका लागि साउन १७ गते स्थायी कमिटिको बैठक बस्ने निर्णय भएको छ।’ उनले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न साउन १७ गते स्थायी समितिको बैठक बोलाउने निर्णय भएको जानकारी दिए।
बैठकले सरकारलाई पूर्णता दिने विषयमा गठबन्धन दलहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ। यस्तै, गठबन्धन सरकारलाई न्युनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धतामार्फत् अगाडि बढाउनुपर्ने भएकाले छिटोभन्दा छिटो गठबन्धन दलसम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रम, प्रतिबद्धता तत्काल तय गर्न आह्वान गरेको श्रेष्ठले बताए।



लोकपाटी न्यूज

