काठमाडौं। जसपा सांसद रेणुका गुरुङ फेरि जसपाको उपेन्द्र यादव पक्षमै फर्किएकी छिन्। यस अघि केपी ओली सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त भएकी रेणुका गुरुङ उपेन्द्र यादव समूहमा फर्किएकी हुन्।
यस अघि पनि यादवतिरै भएकी उनी मन्त्री बन्नैका लागि उपेन्द्र यादवपक्षबाट महन्थ ठाकुर पक्षमा लागेकी थिइन्। केही दिन मन्त्री भए पनि अदालतको आदेशसँगै अरुसँगै उनी पनि पदमुक्त भएकी थिइन्। जसपाको यादव पक्ष सरकारमा गएपछि उनी फेरि यादवतिरै खुलेकी हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत हाल्ने जसपाको निर्णयमा सहमति जनाउँदै उनले पनि हस्ताक्षर गरेकी छन्। गत स्थानीय तहको निर्वाचनमा काठमाडौंमा टोखा नगरपालिकाको उपप्रमुखमा जम्मा ९९ मत ल्याएर उनी पराजित भएकी थिइन्। तर, तत्कालीन संघीय समाजवादीले समानुपातिकतर्फबाट उनलाई सांसद बनाएको थियो।



लोकपाटी न्यूज

