काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दैछ। दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बैठक बस्न लागेको नेता शरतसिंह भण्डारीले जानकारी दिए।
पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको विवादकै विषयमा छलफल गर्न ठाकुर पक्षले बैठक बोलाएको हो। निर्वाचन आयोगले आइतबार आधिकारिकता विवादका विषयमा छलफल गर्न बोलाएकाले त्यसको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो।
त्यस्तै, ठाकुर समूहका नेताहरुले शनिबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। भेटमा उनीहरुबीच आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको बताइएको छ। ओली निवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताए।
ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुगेका हुन्। जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ। ओलीसँग छोटो समय मात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ।
सर्वोच्च अदालतको फैसलालाई हेर्ने दृष्टिकोणमा पनि दुवै पक्षबीच समानता रहेको जसपा नेताहरूले बताएका छन्। एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षले देउवालाई साथ दिएका छन्।



लोकपाटी न्यूज

