काठमाडौँ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई निराशामा रहेका जनतालाई उत्साहित बनाउनेगरी काम गर्न सुझाएका छन्। अपरान्ह नेपाल निवास कोटेश्वरमा पुगेका नवनियुक्त प्रधानमन्त्री देउवालाई एमाले वरिष्ठ नेता नेपालले सबै दललाई मिलाएर अघि बढ्ने प्रयत्न गर्न पनि आग्रह गरेका छन्।
भेटवातामा सहभागी नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवालाई कसरी अगाडि बढ्ने भन्ने विषयमा सुझाव दिएको जानकारी दिए। ‘पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेताज्यूले प्रधानमन्त्रीलाई आफ्नो निवासमा चिया खान बोलाउनु भएको थियो। उहाँले निराशामा रहेका जनतालाई उत्साहित बनाउनेगरी काम गर्न सुझाउनु भयो,’ महामन्त्री खड्काले भने, ‘सबै दललाई मिलाएर अघि बढ्ने प्रयत्न गर्न पनि उहाँले प्रधानमन्त्रीज्यूलाई सुझाव दिनु भएको छ।’
दुई नेताबीच विश्वासको मतका विषयमा कुराकानी भए पनि केही निक्र्यौल ननिस्किएको महामन्त्री खड्काले बताए। ‘अहिलेसम्मको राजनीतिक घटनाक्रमबारे कुराकानी गर्दा विश्वासको मतबारे पनि सैद्धान्तिक कुराकानी भयो,’ महामन्त्री खड्काले भने, ‘तर, ठ्याक्कै निक्र्यौल निस्केको छैन।’ अफ्टेरो परिस्थितिमा आएको अवसरलाई सदुपयोग गर्न नेता नेपालले सुझाएका थिए। त्यस्तै नेपालले प्रधानमन्त्रीका रूपमा पहिलो निर्णय सबै नागरिकलाई निःशुल्क कोभिड-१९ विरुद्धको खोप लगाउने गरेकोमा धन्यावाद दिएका थिए।
सुशासनलाई प्राथमिकता दिएर अगाडि बढ्न उनले देउवालाई आग्रह गरेका थिए। जवाफमा देउवाले आफू सबैसँग सल्लाह गरेर अगाडि बढ्ने बताएका थिए। नेपालसँग कुराकानी गर्नुपूर्व देउवाले नेपाल निवासमा रहेका एमाले नेताहरू तथा सांसदसँग भलाकुसारी गरेका थिए। देउवा एमाले वरिष्ठ नेता नेपाल समूहका २३ सांसदहरूको समेत सहयोगमा मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए।



लोकपाटी न्यूज

